सुदुरपश्चिम सरकारमा सत्ता सहकार्यको छलफल, मुख्यमन्त्री भट्टले गरे प्रचण्डसँग भेटवार्ता

६ साउन, काठमाडौं
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन छलफल चलाएका छन् ।

बुधबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल गरेका हुन् ।

मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका हुन् । त्यस क्रममा पार्टीको राजनीतिक अवस्था र सुदूरपश्चिम सरकारमा सत्ता सहकार्यबारे छलफल भएको भेटमा सहभागी एक नेताले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संघीय सरकारमा जस्तै प्रदेशमा पनि कांग्रेस, माओवादी र जसपाबीच सत्ता सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि ५२ जना सांसद छन् ।

उनीहरूमध्ये नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here