६ साउन, काठमाडौं
नेकपा एमालेको माधव नेपाल समूह पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्षमा पुगेको छ ।
नेपाल समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको नेता रघुजी पन्तले जानकारी दिए ।
‘छलफलमा सबैको जोड एकतामा रह्यो र एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा हामी सबैको सहमति भयो, बैठकपछि पन्तले भने ।
पन्तका अनुसार एकता प्रक्रिया चलिरहेका बेला वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुस र पुत्ला जलाउने कार्य तत्काल रोक्न बैठकले माग गरेको छ ।
‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध नाराजुलुस र पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’ बैठकले पारित गरेको प्रस्ताव सुनाउँदै पन्तले भने ।
‘यस्ता गलत र उत्तेजक कार्यविरद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गर्दछ’ पन्तले थपे ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्नुले एकतामा भाँजो हाल्ने काम गरेको नेता पन्तको भनाइ छ ।
बैठकमा पार्टी उपाध्यक्ष भीम रावल अनुपस्थित थिए । वरिष्ठ नेता नेपाल पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने अडानबाट पछि नहटेपछि उपाध्यक्ष रावलले असार २९ गते सांसद पदबाट राजीनामा दिएका थिए ।