आज माओवादीको स्थायी कमिटि बैठक बस्दै

६ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेको हो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ ।

आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेको देखिन्छ ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here