विपत् सङ्कटग्रस्त जिल्लाको पुनर्निर्माण तयारी हुँदै

६ साउन, काठमाडौं ।

सरकारले बाढीपहिरोले क्षतिग्रस्त भएका मनाङ र सिन्धुपाल्चोक जिल्लालाई विपत् सङ्कटग्रस्त जिल्ला घोेषणा गरेसँगै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पुनर्निर्माणको तयारी थालेको छ ।

बाढीपहिरोको अत्यधिक जोखिम कायमै रहेको सिन्धुपाल्चोक र मनाङलाई मन्त्रिपरिषद्ले सोमबार विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेसँगै प्राधिकरणले तयारी थालेको हो ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले विश्व बैङ्कको सहुलियत ऋणमा सहयोग प्राप्त छ अर्ब रुपियाँले विपत् सङ्कटग्रस्त जिल्ला तथा प्राकृतिक प्रकोपले समस्यामा पारेका जिल्लामा सहयोग गरिसकेको जानकारी दिए ।

‘रकमको अभाव हुँदैन, विश्व बैङ्कले सहयोग गरेको छ अर्ब रुपियाँबाटै काम गर्न सकिन्छ,’ उनले स्पष्ट पारे । प्रवक्ता अर्यालका अनुसार अघिल्लो वर्ष सोही रकमले नेपालका २२ जिल्लाका विपत्मा परेका नागरिकलाई अस्थायी आवास निर्माण तथा पुनर्निर्माणका लागि प्राधिकरणले तीन अर्ब रुपियाँ खर्च गरेको थियो ।

अघिल्लो वर्ष विपत्बाट चार हजार ९१७ परिवारलाई सहयोग गरिएको अर्यालले जानकारी दिए । ‘विपत्का धेरै घटना भएका र क्षति धेरै गराएको जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरिन्छ,’ प्रवक्ता अर्यालले भने, ‘सङ्कटग्रस्त जिल्लाले विपत्पछिको पुनर्निर्माण र पुनस्र्थापनाको काममा प्राथमिकता पाउँछ ।’

सरकारले मनाङ र सिन्धुपाल्चोकलाई प्राकृतिक विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरेसँगै अरू जिल्लामा भन्दा ती जिल्लामा प्राधिकरणले प्राथमिकतामा राखेर तीव्रताका साथ काम गर्ने उनको भनाइ छ ।

यद्यपि मनाङ र सिन्धुपाल्चोक मात्रै नभएर मुलुकभरको विपत् व्यवस्थापनको काम प्राधिकरणमार्फत हुने र विश्व बैङ्कले गरेको सहयोगको बाँकी तीन अर्ब रुपियाँ रकम यो वर्ष खर्च गर्न सकिने अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here