६ साउन, काठमाडौं ।
कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष शतप्रतिशतले कमी आएको छ ।
यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो ।
यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो ।
विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन ।
वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी भएको छ ।
आर्थिक वर्ष २०७५–०७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा २५० प्रतिशत कमी आएर १ लाख ४१ हजार ९७७ पुगेको छ ।
गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेको कारण यो संख्यामा वृद्धि भएको भए पनि हाल कोरोनाका कारण घटेको हो ।
अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या सबै भन्दा बढी ८१ हजार ५६७ रहेकोमा गत आवमा सो संख्यामा शतप्रतिशत कम भई ४० हजार ४४६ मा सीमित भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले कारोनाका विश्वव्यापी श्रम बजारमा संकुचन आएका कारण श्रम गन्तव्यमा जाने नेपालीको संख्या घटेको बताए ।
यसैगरी अघिल्लो आवमा युएई जाने नेपाली युवाको संख्या ९३ हजार ४२२ रहेकोमा गत आवको सो संख्या शतप्रतिशले कमी आएर ४० हजार ४५६ ४२४ मा सीमित भएको छ । अघिल्लो वर्ष साउदी अरब जाने नेपालीको संख्या ८३ हजार १६३ मा शतप्रतिशत नै कमी भएर ४६ हजार ७९६ मा झरेको छ । यो संख्या संस्थागत, वैधानिकरण, व्यक्तिगत र पुन श्रम स्वीकृति हो । यसमा पुनः श्रम स्वीकति लिएर जानेको संख्या बढी रहेको छ ।
प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा आएको कोरोना संकटकाबीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घट्दै गए पनि यसका लागि सरकारले वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैन ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ कोरोना संकटले रोजगारीका दर घटदै गएपछि जाने क्रम रोकिएपछि संख्या घटनु स्वभाविक भएपनि यसको लागि वैकल्पिक रोजगार गन्तव्य खोजी नगर्नु विडम्बना भएको बताउँछन् ।