फास्ट ट्रयाकको बार्षिक प्रगति : यस्तो छ असार मसान्तसम्मकाे विवरण

५ साउन, काठमाडौं
राष्ट्रिय आयोजना अन्तर्गतको काठमाडौं–तराई/मधेश द्रूतमार्गको गत आर्थिक बर्षमा १६.१ प्रतिशत भौतिक प्रगति भएको  छ ।

नेपाली सेनाले आर्थिक बर्ष २०७७÷७८ को अन्त्यसम्मको प्रगति विवरण सार्वजनिक गर्दै आयोजनसमग्र भौतिक प्रगति १६.१ प्रतिशत हासिल भएको छ । नेपाली सेनाको समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिशत र वित्तियतर्फ १४.५१ प्रतिशत लक्ष्य हासिल भएको जनाएको छ ।

गत आर्थिक बर्षमा ८ अर्ब ९६ करोड ८८ लाख रुपैंया विनियोजन भएकोमा बार्षिक प्रगति ९७.३४ प्रतिशत रहेको छ । आयोजनाको कुल अंशको थप ५.१ प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने प्रक्षेपण गरिएको थियो ।

सेनाको निर्माण व्यवस्थापनमा अघि बढेको काठमाडौं–तराई/मधेश द्रूतमार्ग आयोजनाको महत्वपूर्ण संरचनाको रुपमा रहेका दुवै सुरुङ मार्ग निर्माणका लागि ठेक्कापछिको कार्य प्रारम्भ गरिएको छ ।

सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरु छनोट गरी सर्भे लगायतका कार्य सुरु गरिएको सेनाले जनाएको छ ।

हाल उक्त परामर्शदाताबाट टोली प्रमुख, आयोजना समन्वयकर्ता, टनेल इञ्जिनियर्स, हाइवे इञ्जिनियर्स, पुल इञ्जिनियर्स, रोड एन्ड सेफ्टी एक्सपर्ट, वरिष्ठ भूगर्भशास्त्रीले कार्य प्रारम्भ गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

८ वटा बेलिब्रिज सञ्चालनमा

आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार ८ वटा बेलिब्रिज जडान गरि सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेका छन् । पुल तथा सुरुङ निर्माण कार्यको लागि आवश्यक पहुँचमार्ग निर्माण कार्य अगाडी बढाइएको छ ।

आयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण गर्ने कार्य गरिएको छ । अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा एडभान्स उपकरणसहितको प्रयोगशाला थप गर्ने व्यवस्था मिलाईएको छ ।

९१.५ प्रतिशत जग्गा अधिकरण र मुआब्जा वितरणको काम सम्पन्न

सेनाका अनुसार आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण र मुआब्जा वितरणको काम सम्पन्न भइसकेको छ । खोकना–बुङ्मती क्षेत्रमा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन भइ समन्वयका लागि पहल भइरहेको सेनाले प्रगति विवरणमा उल्लेख गरेको छ ।

२ लाख ४९ हजार १६६ वटा वृक्षारोपण

रुख कटान तथा व्यवस्थापनको काम शतप्रतिशत पूरा भएको छ । असार मसान्तसम्म २ लाख ४९ हजार १६६ वटा बिरुवा रोपिएको छ ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्यांकन (ईआईए) तथा सुरुङ मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन गरिएको छ ।  त्यसअनुरुप पूरक वातावरणीय द्रुतमार्ग मूल्यांकन (एसईआईए) स्वीकृत भई कार्य प्रारम्भ गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here