माधव नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

छुट्टै पार्टी खोल्न सांसदहरुको सुझाव

५ साउन, काठमाडौं
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।

बैठकमा सरकारमा सहभागिताबारे ठोस निर्णयसहित आगामी रणनीति तय गर्ने बुझिएको छ । नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु मंगलबार दिउँसो बानेश्वरस्थित एक होटलमा छलफल गरेका थिए ।

छुट्टै पार्टी खोल्न सुझाव

मंगलबारकाे भेलामा केही सांसदले छुट्टै पार्टी खोल्न र केहीले देउवा नेतृत्वको सरकारमा जान वरिष्ठ नेता नेपाललाई सुझाव दिएका बताइएको छ ।

बैठकमा पार्टीमा सांसदको संख्या बढाउने बिषयमा पनि छलफल गरिएको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए ।

सोमबार एमाले केन्द्रीय कमिटीले पार्टीको निर्णय विपरित फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएको भन्दै वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । तर २४ घण्टे स्पष्टीकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको सांसद खतिवडाको भनाई छ ।

सरकारमा नजाने

माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतले नेता नेपालसँग छलफल गरेका छन् ।

नेपाल पक्षका सांसदहरुको आजको भेलामा भने सरकारमा जाने बिषयमा कुनै छलफल नभएको सांसद रामकुमारी झाँक्रीले बताएकी छिन् ।

‘हाम्रो पार्टी प्रतिपक्षमा भएकाले हामी सरकारमा जाँदैनौं झाँक्रीले भनिन्–सरकारमा जाने हाम्रो एजेण्डा थिएन ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here