एमाले नेता नेपालसँग प्रचण्ड र यादवले छुट्टाछुट्टै भेटे

५ साउन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल विस्तारको तयारीसँगै गठबन्धनका नेताहरुको भेट बाक्लिएको छ ।

देउवाले आइतबार संसदबाट विश्वासको मत लिएर मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । यसैबेला मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड र यादव नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्ड र नेपालबीच झन्डै दुई घण्टा कुराकानी भएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रचण्ड नेपाललाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुग्दा प्रचण्ड लगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेताहरुवीच मन्त्रिपरिषद् विस्तार सम्बन्धमा छलफल भएको बुझिएको छ । सरकारको साझा कार्यक्रम बनाएर नयाँ ढँगले जाने बिषयमा नेताहरुले छलफल गरिरहेकाे बताइएकाे छ ।

एमाले वरिष्ठ नेता नेपालसहितका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि एमालेभित्रको अन्तरविरोध थप फराकिलो भइरहेका बेला गठबन्धनका नेताहरुवीचको बाक्लो भेटघाट र छलफलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालवीचको तिक्ततालाई थप बढाएको छ ।

ओलीकै प्रस्तावमा सोमबार केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तर सांसदहरुले स्पष्टीकरण नदिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here