५ साउन, काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगी गर्ने एक हजार ३५ व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
विभागले अनुगमन गरेर एक वर्षको अवधिमा उपभोक्ता ठगी गर्नेलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७७–०७८ को साउनदेखि असार मसान्तसम्म विभागले मुलुकभर २ हजार ९ सय ७४ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।
बढी मूल्य लिएको, म्याद नाघेको सामान बिक्री गरेको, नापतौलमा समस्या देखिएका व्यवसायीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । अनुगमनका क्रममा १ हजार ३५ फर्ममा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
सो अवधिमा ती व्यवसायीबाट २ करोड ३९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागले जानकारी दिएको छ । सो अवधिमा ६९ व्यवसायी फर्मलाई स्पष्टीकरण सोधिएको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईले एक वर्षको अवधिमा उपभोक्ता ठगी गर्ने १ हजार ३५ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । बजार अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायी फर्मलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको छ ।
उपभोक्ता संरक्षण ऐनमा निरक्षण अधिकृतले फिल्डमै कसुर अनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था छ । सोही अनुसार कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कारबाही पर्नेमा खाद्य तथा किराना पसल, पानी उद्योग, तेल उद्योग, तरकारी, सुपरमार्केट, औषधी पसल, सर्जिकल पसल, फलफूल पसल, मास्क उत्पादन र गार्मेन्ट रहेका छन् ।
निषेधाज्ञाको बेला बढी मूल्य लिने स्वास्थ्य सामग्रीका पसल धेरै कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा बजारमा सबैभन्दा धेरै खाने तेलको मूल्य बढेको थियो । बढी मूल्य लिने तेल उद्योगलाई समेत विभागले कारबाही गरेको थियो ।
बजार अनुगमन गरेर सामानको नापतौल, मूल्यसूची, लेबल, विलविजक, उत्पादन र उपभोग्य मिति नभएको सामान विक्रि हुने गरेको पाइएको छ ।
एक वर्षको अवधिमा ३ करोड ७३ लाख ८४ हजार रुपैयाँ बराबरको म्याद नाघेको खाद्य सामग्री नष्ट गरिएको छ । गत वर्ष भएको निषेधाज्ञाका बेला म्याद नाघेका सामान रिलेबलिङ गरेर बिक्री गरेको फेला परेपछि नष्ट गरिएको थियो । ३७ वटा व्यवसायी फर्मलाई कारोबार रोक्का गरिएको छ । ३७ वटा नमुना परीक्षणका लागि संकलन गरिएको थियो । १९ वटालाई अभियोजनमा लगिएको विभागले जानकारी दिएको छ ।
विभागले बजार अनुगमन नियमित रुपमा गरेको बताए पनि बजारमा मूल्यवृद्धि, म्याद नाघेका सामान बिक्री, नापतौलमा कमी जस्ता समस्या कायम रहेको छ । निषेधाज्ञाको बेला व्यवसायीलाई कृत्रिम अभाव गराएर बजारमा अधिकांश सामानको मूल्य बढाएका थिए ।
खाने तेल, चिनी, पिठो, केराउ, सर्जिकल सामान, स्यानिटाइजर, मास्कलगायतका सामानमा मूल्य बढेको थियो । बजारमा पसलपिच्छे व्यवसायीले अधिकांश सामानमा मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।
अत्यावश्यक वस्तु तथा सेवामा २० प्रतिशत भन्दा बढी नाफा राख्न नपाइने कानूनी व्यवस्था भएपनि दोब्बर तेब्बर मूल्य लिई ठगिरहेको उपभोक्ताको गुनासो छ ।