४ साउन, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुले पार्टीका मान्छेहरुलाई उल्काइदिएर विभाजनको अवस्थासम्म पुर्याएको बताएका छन् ।
सोमबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने–‘प्रतिक्रियावादीहरुले एकजुट भएर हाम्रा मान्छेलाई उल्क्याइदिए, त्यसैले यो स्थिति आयो ।’
आफ्नो अस्तित्वको अर्थ नहुने भएपछि आफू नेतृत्वको सरकारको कामलाई बदनाम गरेको उनको आरोप छ । ‘हाम्रा कामलाई ओझेल नपार्ने हो भने, हाम्रा कामहरुको चर्चा गर्ने हो भने, हाम्रा कामहरु ठिकै छन् भनिदिंदा उहाँहरुको अस्तित्वको अर्थ नहुने भो । त्यसकारण उहाँहरु आफ्नो अस्तित्व रक्षाका लागि हामीले गरेका कामहरु ओझेलमा पार्ने, हाम्रा कामहरुलाई बदनाम गर्न थाल्नुभयो । प्रतिक्रियावादी शक्तिहरुले आफूले मात्र नभई, हाम्रो भित्रै व्यक्तिहरुका महत्वकांक्षा खडा गर्ने, महत्वकांक्षाहरुलाई जगाइदिने, सुर्र्याइदिने, उल्काइदिने कामहरु गरे ।’
कम्यूनिष्टहरु अगाडी बढेको देखेर विरोधीहरु आत्तिने गरेको उनको भनाई थियो ।
‘जहिले पनि कम्यूनिष्ट पार्टी अगाडी बढ्छ, तब प्रतिक्रियावादी शक्तिहरु एकढिक्का भएर त्यहाँभित्र अन्तरघात गर्छ । ५१ सालमा हामिले प्रमुख पार्टीको हैसियत प्राप्त गरेर नौ महिना सरकार चलाउने मौका पायौं । त्यो चुनावी सफलता, सरकार गठनमा सफलता, सरकारले गरेका काममा सफलता देखेर हाम्रा विरोधीहरु आत्तिए । जसले गर्दा नेकपा एमाले एमालेको तत्कालीन सरकारलाई नढाली नहुने अवस्था प्रतिक्रियावादीहरुले बनाइदिए । अब कसरी सरकार ढल्यो, हट्न पर्यो, कस्ता घटनाक्रम भयो भनेर यसबेला पनि हामीले देखेका छौं ।’
ओलीले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘विषवृक्ष’को संज्ञा समेत दिएका छन् । ‘पार्टीमा उहाँलाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’ उनले आक्रोशित हुँदै प्रश्न गरे । उनले नेता नेपाल कम्युनिष्ट आन्दोलनको गद्दारी भएको आरोप पनि लगाए ।
आइतबार ‘फ्लोर क्रस’ गरेर देउवालाई विश्वासको मत दिएका नेता नेपालसहित ओली पक्षका ८ र माधव समूहका १४ गरी २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय एमाले केन्द्रीय कमिटी बैठकले गरिसकेको छ । कारवाहीको प्रस्ताव पनि ओलीले नै गरेका थिए ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार बहिगर्मनपछि बनेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई टालाटुलीको संज्ञा दिएका छन् ।