जापान पठाइदिने भन्दै ठगी गर्ने चारजना पक्राउ

४ साउन, काठमाडौं
जापान पठाइदिन्छु भन्दै करिब ४० लाख ठगी गर्ने चारजना पक्राउ परेका छन् । ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पुजा राई छन् ।

यस्तैगरी, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी पनि पक्राउ परेका छन् ।

सामाजिक संजाल फेसबुकमा “टानाकायोका”को नामबाट फेसवुक प्रयोग गरी आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै चिनजान गरी उनीहरुले ठगी गरेको खुलेको छ ।

जापान जान वर्किङ भिषा प्रक्रियाको लागि भन्दै विभिन्न बैंक खातामा रकम डिपोजिट गर्न लगाई सम्पर्क विहीन भएका उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका चारजनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here