माधव नेपासहित २२ सांसदलाई स्पष्टीकरण साेध्ने एमालेको निर्णय

४ साउन, काठमाडौं
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘हिजो पार्टीका कतिपय साथी, सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गर्ने र शेरबहादुर देउवालाई मत दिने जुन काम गर्नुभयो, त्यो सबै दृष्टिले सर्वथा अनुचित र अनुशासनहीन, गलत काम भएकोले २२ जना सांसदहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय भएको छ’ बैठकपछि ज्ञवालीले भने ।

बैठकमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्दै पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए । उनले नेता नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप समेत लगाएका छन् । नेपाललाई नेकपा एमाले पार्टीमा स्वागत नगरिने पनि ओलीले बताएका छन् ।

‘हामीले १० बुँदेको आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजानका निम्ति अथक प्रयास गरेका हौं, माधव नेपाललाई यसै अनुसार अगाडी बढ्नका लागि आग्रह गर्यौँ, ज्ञवालीले भने- ‘उहाँले १० बुँदेका कयौं बिषयमा सहमत नभएको, काँग्रेसलाई विश्वासको मत दिने पूर्व वचनबाट पछि हट्न नसक्ने र आफू जुन कमिटीमा अल्पमतमा रहेको कमिटीमा गएर त्यसको संस्थागत निर्णय मान्दिन भनेर ठाडो जवाफ दिनुभयो ।’

आफूहरुको प्रयासले माधव नेपाललाई सहमतीमा फर्काउन नसकेको ज्ञवालीले प्रष्ट पारे ।

‘धेरै सम्झाउने प्रयत्न भयो, त्यो सफल हुन नसक्दा भिम रावलले राजीनामा दिने तहसम्म पुग्नुपर्यो, अरु ११ जना साथीहरुले मतदानमा अनुपस्थित हुने स्थिती सिर्जना भयो, पार्टी प्रवक्ता ज्ञवालीले भने –हाम्रा प्रयासहरुले माधव नेपाललाई फर्काउन नसकेको, १० बुँदे सहमतीको स्प्रिटअनुसार हिंडाउन नसकेको यथार्थ हो ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here