बढी भाडा लिने ७७ सार्वजनिक यातायातलाई कारवाही

४ साउन, काठमाडौं ।

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।

साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए ।

महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारवाही गरेको थियो । शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको हो ।

बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही भइरहेको छ ।

एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको प्रवक्ता दासले बताए ।

शुक्रबार कारवाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here