४ साउन, काठमाडौं ।
भारत सरकारले नेपालको लागि आइतबार १ सय ५० थान बाल आइसियु बेड हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा राजदूत क्वात्राले कोभिड महामारीको यो घडीमा भारतले प्रदान गरेका सामग्रीहरूको महत्वपूर्ण सहयोग हुनसक्ने जनाए ।
‘कोभिड १९ महामारीको यो समयमा भारतले प्रदान गरेको आइसियुले स्वास्थ्य संरचना विस्तारमा महत्वपूर्ण स्थान हुनेछ,’ क्वात्राले भने । मित्रराष्ट्रको रूपमा यस्तो आपसी सहयोग आगामी दिनमा पनि जारी रहेन क्वात्राको भनाइ थियो ।
सो क्रममा संचारकर्मीले भारतले दिने भनेको खोप कहिले दिने भन्ने प्रश्नको उत्तरमा राजदूत क्वात्राले यस्तो भारत र नेपालमा कोभिड १९ को महामारीको बेला घोषित खोप दिन नसकेको र आगामी दिनमा खोपको साथै अन्य स्वास्थ्य सामग्री प्रदान गरिने बताए ।
कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ महामारीविरुद्ध लड्न भारतले आगामी दिनमा भारतसँगको सहकार्यको अपेक्षा राखेको बताए ।
‘महामारीको विरुद्धमा लड्नको लागि भारत तथा भारतीय जनताको छिमेकी राष्ट्रप्रतिको योगदान छ ।’ सो क्रममा उनले भारतले कोभिड १९ विरुद्धको खोप पनि विश्वमै पहिलोपटक नेपाललाई प्रदान गरेको स्मरण गरे ।