आजबाट देशभर जोन्सनको खोप लगाइँदै

४ साउन, काठमाडौं ।

सरकारले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्दैछ ।

खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणर्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन् ।

साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ । खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन् ।

खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खोप अभियानको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए । यो अभियानमा जोन्सोन एण्ड जोन्सोनको ज्याक्सन खोप एक डोज मात्र लगाए पुग्नेछ ।

गत साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो । सबैजसो जिल्लामा खोप पुगिसेको मन्त्रालयले जनाएको छ ।

यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो ।

केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here