कांग्रेसमा मन्त्री बन्न नेताहरुको दौडधुप सुरु

४ साउन, काठमाडौं ।

प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् ।

गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले काम थाल्नेछ ।’

कुन दलले कतिकति र कुनकुन मन्त्रालय लिने भन्ने टुंगो नलागे पनि यसमा ठूलो विमति नरहेको दाबी नेताहरूको छ । अर्थ र ऊर्जासहित माओवादी केन्द्र असार २९ गते नै सरकारमा सहभागी भइसकेको छ ।

सत्ता साझेदार दलहरूबीचको सहमतिमा माओवादीले पाउने थप मन्त्रालय तोकिनेछ ।

सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । एमाले माधवकुमार नेपाल पक्षलाई पनि प्रधानमन्त्री देउवाले सरकारमा सहभागी गराउन चाहेका छन्। तर नेपाल पक्ष सरकारमा सहभागी हुनेनहुने अझै निश्चित भइनसकेको स्रोतको दाबी छ ।

पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी हुने जनाइएको छ । प्रतिनिधिसभा विघटन गर्ने पूर्ववती ओली नेतृत्वको सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले असार २८ गते नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । सोही दिन देउवाले आफ्नै पार्टी कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका थिए ।

कांग्रेसमा मन्त्री बन्न लर्को
पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन ।

तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो । सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति देउवालाई मिल्यो ।

देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन् । गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन् ।

सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् । कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई पनि सहभागी गराउने निश्चित रहेको स्रोतको दाबी छ ।

भुसाल अहिले कांग्रेस सचेतक छिन् । प्रमुख सचेतक खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गरेका छन् । देउवानिकट केहीले भने राईलाई मन्त्री बनाउन सुझाएका छन् ।

पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ । कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने छैनन् ।

संस्थापन इतरका दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ । एक नेताले भने, ‘प्रमोद यादव, राजन केसी, तुजुलाल चौधरीमध्येबाट सरकारमा सहभागी हुने सम्भावना बढी छ ।’

केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई असार २९ गते नै संस्थापन इतर पक्षले सरकारमा पठाउन खोजे पनि देउवाले नचाहेको स्रोतको दाबी छ । केन्द्रीय सदस्य गगन थापा पनि सरकारमा सहभागी हुन खोजेको जानकारी दिँदै ती नेताले भने, ‘सभापतिजीले मान्नुभयो भने संस्थापन इतर पक्षबाट उहाँ (गगनकुमार थापा) लाई पठाउनुपर्छ भन्ने मत छ ।’

विगतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थापालाई अहिले फेरि संस्थापन इतर (रामचन्द्र पौडेलसहितको समूह) बाट सरकारमा पठाउने खोजिएका प्रति निकटहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङसहितका नेताहरू पनि लागिपरेको स्रोतको दाबी छ ।

पूर्वमहामन्त्री सिटौलाको कोटाबाट केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई सरकारमा सहभागी गराउने तयारी छ । यसअघि सिटौला समूहबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थापा र देउवा नेतृत्वको सरकारमा भीमसेनदास प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here