४ साउन, काठमाडौं ।
नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ ।
टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गथ्र्यो ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु गरिएको बताए ।
उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमै बजारमा पुग्ने जानकारी दिए ।
कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो ।
काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करिब ३२ करोड लगानीमा औषधि उत्पादन सुरु गरिएको हो। उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताए ।
कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य संगठनको जिएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरूप बनाइएको नेपालकै नमुना कम्पनी भएको जिकिर गरे ।
‘क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, अर्काे कुरा हाम्रो कम्पनीमा नवीनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले भने ।
उनले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए । सो अवसरमा टिजिङ कम्पनीले ‘एन्टी क्यान्स सम्बन्धी औषधिको समेत अनावरण गरेको छ ।