३ साउन, काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चले संसदलाई बचाइदिएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतमाथिको छलफलमा भाग लिंदै प्रचण्डले केपी ओलीले लोकतन्त्रप्रति उपहास गरेको बताए । उनले ओली सरकारले रातारात संसद् विघटन गर्नुलाई लोकतन्त्र भनेकोप्रति व्यंग्य गरे । ओलीलाई अहंकार दम्भ नराख्न आग्रह गर्दै प्रचण्डले भने–व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुंदैन ।’
आगोसँग नखेल्न पनि उनले चेतावनी दिए । ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । हेप्न थाल्नुभयो भने फेरी आगो सल्किन सक्छ ।’
प्रचण्डले संसदमा एमाले पार्टीका प्रवक्ता समेत रहेका सचिव प्रदीप ज्ञवालीले राखेको अभिव्यक्तिप्रति इंगित गर्दै शान्ति सम्झौता गलत थियो भन्न खोजेको हो ? भनि प्रश्न समेत गरे ।
माओवादीलाई युद्ध हारेर आएर लोकतन्त्रको कुरा गर्ने भन्ने आशयका साथ ज्ञवालीको अभिव्यक्ति आएको प्रचण्डको दुखेसो थियो । ‘माओवादीले लोकतन्त्रको पक्ष लिन हुन्न भन्न खोजेको हो कि क्या हो ?’ प्रचण्डको प्रश्न थियो ।
प्रचण्डले संसद् विघटन विडम्बनापूर्ण भएको दोहोर्याउंदै ओली छलपकट जाली भएको आरोप लगाए ।