३ साउन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।
आइतबार अपरान्ह प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले देउवाले राखेको प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको घोषणा गरे । एकजना सांसद तटस्थ बसे । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । देउवालाई विश्वासको मत प्राप्त गर्न प्रस्तावका पक्षमा १३६ मत आवश्यक थियो ।
देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले संस्थापन पक्षकै केही सांसदको समेत मत प्राप्त गरे । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने पार्टी एकता कायम राख्न भन्दै तटस्थ बस्यो ।
देउवालाई उनकाे दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको महन्थ-उपेन्द्र दुवै समूह, राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिए । जसपा महन्थ ठाकुर पक्षले अन्तिम समयमा आएर देउवालाई विश्वासकाे मत दिने निर्णय गरेकाे थियाे ।
देउवाले विश्वासको मत प्राप्त गरेसँगै उनको डेढ बर्षे कार्यकाल सुनिश्चित भएको छ भने प्रतिनिधिसभा पनि पूरा पाँच बर्ष सञ्चालन हुनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले असार २८ गते पुनस्र्थापना गरेको थियो ।
साथै अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार देउवा संविधानको धारा ७६ (५) अनुसार असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका देउवाले कांग्रेस र माओवादी केन्द्रका दुईदुई गरी पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् ।