ठाकुर पक्षका असन्तुष्ट सांसद यादवको पक्षमा, संसदीय दलमा यादव पक्ष बलियो

३ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । योसँगै संसदीय दलमा यादव पक्ष बलियो बनेको छ ।

यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन् ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानीमण्डल र नरमाया ढकाल बैठकमै उपस्थिति भए। रुही नाथले आफू काठमाडौंबाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् ।

‘उहाँ (रुही नाथ) हाम्रो पक्षमा आइसक्नुभएको छ । आज (शनिबार) सर्लाहीमा भएकाले बैठकमा आउन नसक्नुभएको हो,’ नेता मृगेन्द्रसिंहले भने, ‘उहाँले यो कुरा हाम्रो अध्यक्षज्यूलाई जानकारी गराउनुभएको छ ।’

ठाकुर पक्षका सांसद प्रमोद साहले आफूलगायत ६ सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको प्रस्ट पारे । उनले थप एक सांसद दुलारीदेवी खतवेले पनि कित्ता परिवर्तन गरेको दाबी गरे । ‘हामी ६ जना सांसद अब महन्थ ठाकुर पक्षमा छैनौं,’ साहले भने, ‘पार्टी बचाउन उपेन्द्र यादव पक्षमा पुगेका छौं ।’

केपी ओली नेतृत्व सरकारमा मन्त्री नभएपछि साह महन्थ ठाकुरसँग असन्तुष्ट छन् । कित्ता परिवर्तन गरेकाहरू ओली सरकारमा मन्त्री नभएकाहरू मात्रै छन् ।

ओली सरकारमा मन्त्री भएकाहरूले भने कित्ता परिवर्तन गरेका छैनन् । कित्ता परिवर्तन गरेकाहरू शुक्रबार महन्थ ठाकुरले बोलाएको जसपाको संसदीय दलको बैठकमा सहभागी भएका थिएनन् ।

ओली सरकारमा जाने बेला ठाकुर पक्षसँग २० र उपेन्द्र यादवको पक्षमा १२ जना मात्र सांसद थिए । ओली सरकारमा जाने तयारी थालिएसँगै यादव पक्षमा चार सांसद कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए ।

ठाकुर पक्षका एक सांसद महेन्द्र यादव भने पहिले नै कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका थिए । अरू सांसद विमल श्रीवास्तव, उमाशंकर अगरैया, रेणुका गुरुङ, कल्लुदेवी विश्वकर्मा कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए । यादव पक्षका पाँच सांसदले कित्ता परिवर्तन गरेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको थियो ।

तर अब परिस्थिति फेरिएको छ । ठाकुर पक्षका पाँच सांसदले कित्ता परिवर्तन गरेका छन् । अब यादवको पक्षमा सांसद १७ पुगेको छ भने ठाकुर पक्ष १५ सांसदमा सीमित भएको छ ।

खतवेले कित्ता परिवर्तन गरे यादवको पक्षमा १८ र ठाकुरको पक्षमा १४ सांसद हुनेछन् । प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये केहीले कहिले कता कहिले कता कित्ता परिवर्तन गर्ने गरेका छन् ।

ठाकुर पक्षका अर्का एक सांसद राजकिशोर यादव ठाकुर पक्षबाट टाढिएका छन् । यद्यपि उनी उपेन्द्र यादव पक्षमा पुगेका छैनन् । उनले जसपाभित्रै अर्को गुट बनाएको चर्चा सुरु भएको छ ।

ओली–ठाकुर भेट
यसैबीच, शनिबार बिहान अध्यक्ष ठाकुरसहित उनी पक्षीय नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झाले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

ओलीलाई भेट्न ठाकुर पक्षका नेता ओली निवास बालकोट पुगेका थिए । भेटमा सहभागी नेता भण्डारीले ओलीसँग शिष्टाचार भेट भएको बताए ।

उनले भने, ‘भेटमा उहाँ (ओली) ले अहिले म आराम गरिरहेको छु, रिल्याक्स भएको छ भन्नुभयो ।’ भेटमा राजनीतिक कुराकानी नभएको भण्डारीले दाबी गरे । ओली सरकारबाट बाहिरिए पनि ओलीसँगको सहकार्य जारी रहने ठाकुर पक्षका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here