२ साउन, काठमाडौं
बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्र्याकको गति आइतबार परीक्षण गरिने भएको छ ।
रेल संचालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड परीक्षण र प्रमाणिकरण गर्ने काम आइतबार हुन गइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भट्टराईले रेल्वे ट्र्याकको स्पिड भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ द्वारा परीक्षण गरिने जानकारी दिएका छन् ।
‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिन्छ’ महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन् ।
उनले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने जानकारी पनि गराएका छन् । परीक्षणको विषयमा जारी सूचनाको अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
सूचना अवज्ञा गर्नेलाई कानुनअनुसार कारबाही समेत गरिने हुँदा जिम्मेबार भइदिन जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई महाप्रबन्धक भट्टराईले अनुरोध गरेका छन् ।