२ साउन, काठमाडौं
प्रदेश दुईको सरकारमा नेकपा माओवादी केन्द्रबाट सहभागी भएका दुई जनाले सपथ ग्रहण गरेका छन् ।
माओवादी केन्द्रबाट सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शनिबार सपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रबाट प्रदेश दुई सरकारमा भरतप्रसाद साह र रुवी कर्र्ण गएका छन् ।
महोत्तरी–१ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित साह आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् भने तथा कर्णले सोही मन्त्राललयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । साहलाई प्रदेश प्रमुख राजेश झा अहिराज तथा कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् ।
शुक्रबार बसेकाे संसदीय दलको बैठकले साहलाई मन्त्रीमा र सांसद कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको थियो ।
यसअघि जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह) का ज्ञानेन्द्रकुमार यादव आन्तरिक मामिला तथा सञ्चारमन्त्री र राज्यमन्त्री सरोजकुमार कुशवाहा थिए । उनीहरुलाई राजीनामा दिएपछि साह र कर्णलाई याे मन्त्रालयमा नियुक्त गरिएकाे हाे ।
जसपाको उपेन्द्र समूहले अध्यक्ष महन्थ ठाकुर समूहका ३ जना मन्त्रीलाई हटाई जेठ २६ गते काँग्रेसलाई सरकारमा सहभागी गराएकाे थियाे ।