२ साउन, काठमाडौं
जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ ।
पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष यादवको अध्यक्षतामा बसेको जसपा संसदीय दलको बैठकले शेरबहादुर देउवा नेतृत्व्को सरकारमा जाने निर्णय गरेको बैठकपछि सांसद प्रदीप यादवले जानकारी दिए । पूर्नस्थापित संसदको भोली बस्ने बैठकमा आफूहरु सत्तापक्षको कुर्सीमा बस्ने उनले बताए ।
जसपा संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको छ । यादव समूहको आजको बैठकमा अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरु अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षमा आएका यादवले बताएका छन् ।
३२ सांसदमध्ये अध्यक्ष ठाकुर समुहमा २० जना यादव समूहमा १२ मात्रै सांसद् थिए । ठाकुर समूहका ५ सांसदको साथ पाएपछि यादव समूहमा १७ सांसद् पुगेका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा पार्टी नै विभाजन गरेर अध्यक्ष ठाकुर समूह गएको थियो ।