२ साउन, काठमाडौं
नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ ।
कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै नेपाल एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको हो । नेपालले पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको थियो ।
खेलबाट बञ्चित हुने भएपछि तयारीमा रहेका खेलाडी निराश बनेका छन् । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले तालिका सार्वजनिक गरेको थियो ।
आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुने एसियन च्याम्पियनसिपमा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले च्याम्पियनशिपमा खेल्नेछन् ।
नेपाललाई कोरोना भाईरसको रेड जोनमा समावेश गरिएकाले एभीसीले च्याम्पियनशिपमा समावेश नगरेको नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बताए । एभीसीले समावेश नगरेपछि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरु घर फर्किएका छन् ।