जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्रा व्यवस्था भइसक्यो: स्वास्थ्य मन्त्रालय

केही दिनमै सबैलाई उपलब्ध गराईनेछ

२ साउन, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका सबैलाई दोस्रो मात्रा उपलब्ध गराइने बताएको छ ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सबै व्यक्तिका लागि दोस्रो मात्राको खोप व्यवस्था भई सकेको मन्त्रालयले स्पष्ट पारेको छ । करीब १४ लाख ज्येष्ठ नागरिकले कोभिशल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।

‘केही दिनमै ती खोपहरु प्राप्त भई प्रतिक्षामा रहनुभएका सबैलाई दोस्रो मात्रा उपलब्ध गराईनेछ । सबैमा संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिनुहुन सार्वजनिक अनुरोध छ’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका नेपाली नागरिकहरुका लागि निःशुल्क खोप लगाउने योजना तयार भईसकेको समेत जनाएको छ । ‘यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्थापन भइरहेको छ’ मन्त्रालयले भनेको छ । पछिल्लो समय प्राप्त खोपहरु धेरै जिल्लामा पुगिसकेका छन् ।

हाललाई भेरोसेल खोप अभियान स्थगित गरिएका केही जिल्लामा अर्को खोप अभियान पर्सिबाटै सुचारु हुने मन्त्रालयले जनाएको छ । साउन ६ गतेदेखि चीनबाट खरिद गरिएका थप खोपहरु आउने भन्दै मन्त्रालयले साउन १५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने तय भइसकेको बताएको छ ।

हाललाई ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु खोप अनिवार्य गरेको देशमा जाने नेपालीलाई भेरोसेल खोप लगाउने बर्गमा राखिएकाे छ ।

यस्तैगरी जानसेनको खोप लगाउने बर्गमा ५० देखि ५४ बर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु, पूण्र्ण र अति अशक्त –बर्ग क र ख) अपांगता भएकाहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुलाई तोकिएको छ ।

चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर संचालन हुने भन्दै स्वास्थ्य मन्त्रालयले आफ्नो पालो अनुसार उमेर खुल्ने परिचयनपत्र लिएर मात्रै खोप लगाउन जान र अरुको खोप लगाउने पालामा भिडभाड नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here