२ साउन, काठमाडौं ।
चिनियाँ खोप उत्पादकहरू सिनोभ्याक र सिनोफार्मले विश्वव्यापी खोप वितरण कार्यक्रम कोभ्याक्समा हस्ताक्षर गरेका छन् ।
कोभ्याक्सले विपन्न देशहरूलाई खोप वितरण गर्ने लक्ष्य राखेको छ ।
ग्लोबल अलायन्स फर भ्याक्सीन्स एन्ड इम्यूनाइजेशन (गाभी) ले उक्त योजनाअन्तर्गत ११ करोड मात्रा खोप उपलब्ध गराउने बताएको छ ।
कोभ्याक्सले ११ वटा खोप उत्पादकसँग सम्झौता गरेको छ र सन् २०२२ को आरम्भसम्ममा दुई अर्ब मात्रा खोप विश्वभरी वितरण गर्ने योजना बनाएको छ ।
सिनोफार्म र सिनोभ्याक दुवैले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट आकस्मिक प्रयोगको अनुमति पाइसकेका छन् ।
यी खोपहरू चीन र विश्वका दर्जनभन्दा बढी अन्य देशमा पहिलेदेखि नै प्रयोग भइरहेका छन् । तर अन्य खोप र यी चिनियाँ खोपमा के फरक छ त?
सिनोभ्याक खोपले कसरी काम गर्छ?
बेइजिङस्थित औषधि उत्पादक कम्पनी सिनोभ्याकले ‘इन्याक्टिभेटिड भ्याक्सीन’ कोरोनाभ्याक बनाएको हो ।
मारिएका भाइरसका अंशहरू पठाएर यसले मानवशरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइदिन्छ । त्यसो गर्दा मानिसमा कुनै गम्भीर समस्या उत्पन्न हुँदैन ।
मोडेर्ना र फाइजरका खोपहरू चाहिँ एमआरएनए खोप हुन् । ती खोपमा कोरोनाभाइरसको आनुवंशिक सङ्केतलाई सुईबाट शरीरमा पठाइन्छ ।
त्यसले शरीरमा भाइरल प्रोटीन पठाउँछ तर पूरा भाइरस पठाउँदैन । यद्यपि प्रतिरक्षा प्रणालीलाई सङ्क्रमणसँग लड्न प्रशिक्षित गर्छ ।
‘कोरोनाभ्याक अधिक परम्परागत शैलीको खोप हो । यस्तो विधि रेबिजको खोपजस्ता धेरै प्रचलित खोपमा सफल रूपमा प्रयोग भएको छ,’ नाङ्याङ प्राविधिक विश्वविद्यालयमा प्राध्यापनरत लुओ दहाईले भने ।
लिखित रूपमा दिइएको जानकारीअनुसार सिनोभ्याकको मुख्य फाइदा भनेको यसलाई अक्सफर्डले बनाएको खोपलाई जस्तै २–८ डिग्री सेल्सीअसको सामान्य तापक्रममा राख्न सकिन्छ ।
उक्त खोप चिम्पान्जीमा रुघाखोकी लगाउने भाइरसको आनुवंशिक संरचनालाई परिवरिवर्तन गरेर बनाइएको हो ।
त्यसविपरीत मोडेर्नाको खोप –२० डिग्री सेल्सीअस र फाइजरको –७० डिग्री सेल्सीअसमा राख्नुपर्ने हुन्छ ।
त्यसको अर्थ सिनोभ्याक र अक्सफर्ड–आस्ट्राजेनेका दुवै खोप चिस्यानको सुविधा नभएका विकासोन्मुख देशमा निकै उपयोगी हुनेछन् ।
सिनोभ्याक खोप कति प्रभावकारी?
डब्ल्यूएचओले भनेको छ, ‘सिनोभ्याक खोपले खोप लगाएका मानिसलाई लक्षणसहितको सङ्क्रमण हुनबाट ५१ प्रतिशत र गम्भीर बिरामी हुनबाट बचाउने तथा अस्पताल जानुपर्ने अवस्थाबाट शतप्रतिशत बचाउने अध्ययनहरूले देखाएका छन् ।’
उक्त खोप गत जुनमा १८ वर्ष र त्यसभन्दा माथिको उमेर समूहका लागि स्वीकृत भएको थियो ।
डब्ल्यूएचओका अनुसार चिकित्सकीय परीक्षणमा ६० वर्ष र त्यसभन्दा माथिका केही मात्र व्यक्तिहरूलाई सहभागी गरिएकाले त्यो उमेर समूहमा प्रभावकारिताबारे अनुमान गर्न सकिँदैन ।
न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथा चिलेमा गरिएको एउटा अध्ययनअनुसार सिनोभ्याकको प्रभावकारिता दर ६५.९ प्रतिशत छ ।
यो खोपले अस्पताल जानबाट ८७.५ प्रतिशत जोगाउने तथा मृत्यु हुनबाट ८६.३ प्रतिशत बचाउने देखिएको छ ।
यद्यपि यो खोप कोरोनाभाइरसको डेल्टा भेरिअन्टका लागि कति प्रभावकारी छ भन्ने विषयमा पर्याप्त तथ्याङ्क वा जानकारी उपलब्ध छैन ।
सिनोफार्म खोपबारे के थाहा छ?
सिनोफार्म खोप चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीले उत्पादन गरेको हो र त्यसलाई डब्ल्यूएचओले मान्यता दिएको छ ।
यो खोप पनि सिनोभ्याकजस्तै निष्क्रिय विषाणुयुक्त खोप हो । यो खोपले शरीरलाई कोरोनाभाइरससँग लड्ने एन्टिबडी उत्पादन गर्न उत्प्रेरित गर्छ ।
यो खोपमा मृत भाइरस हुन्छ जसबाट मानिसमा कोभिड–१९ सर्दैन ।
‘लक्षणसहितका बिरामी र अस्पताल जानुपर्ने अवस्थामा सबै उमेर समूहका मानिसमा यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ,’ डब्ल्यूएचओले भनेको छ ।
यो खोप पनि ६० वर्ष माथिका मानिसमा कति प्रभावकारी छ भन्नेबारे थोरैमा मात्र अध्ययन भएकाले अहिले भन्न नसकिने उसको भनाइ छ ।
यद्यपि डब्ल्यूएचओले उक्त उमेर समूहलाई पनि यो खोप लगाउन मिल्ने जनाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनले एक अर्बभन्दा बढी चिनियाँ नागरिकमा यो खोप लगाइसकेको छ ।
चीनको अधिकांश क्षेत्रमा अहिले कोरोनाभाइरस सङ्क्रमण देखिएको छैन। अहिले चीन निकै खुला भइसकेको छ ।
कुनकुन देशमा चिनियाँ खोप प्रयोग भइरहेको छ?
अहिले ८० वटाभन्दा बढी देशले चिनियाँ खोपहरू प्रयोग गरिरहेका छन् ।
त्यसमा धेरै एशियाली देशहरू पनि छन् । इन्डोनेशिया, थाईल्यान्ड, मलेशिया, भियतनाम, फिलिपिन्स आदि देशहरूले चिनियाँ खोप प्रयोग गरिरहेका छन् ।
नेपालमा पनि चीनले अनुदानमा दिएको तथा चीनसँग किनिएको सिनोभ्याकको भेरो सेल खोप प्रयोग भइरहेको छ ।
चिनियाँ खोप रोजेका केही देशमा धेरै मानिसले खोप लगाइसकेको भए पनि सङ्क्रमणदर निकै उच्च छ ।
चिलेले डेल्टा भाइरसबाट बच्नका लागि पुनः कर्फ्यू लगाएको छ र अन्य प्रतिबन्धहरू लगाएको छ । सत्तरी ७० प्रतिशतभन्दा बढी चिलेवासीहरूले खोपको दुवै मात्रा लगाइसकेका छन् । त्यसमध्ये अधिकांश सिनोभ्याक खोप छ ।
सेशल्स र मङ्गोलियामा जनसङ्ख्या कम भए पनि केही समययता प्रतिव्यक्ति उच्च सङ्क्रमण देखिएको छ ।
दुवै देश मुख्यतः सिनोफार्म खोपमा निर्भर छन् । सेशल्समा ६८ प्रतिशत र मङ्गोलियामा ५५ प्रतिशत वयस्कले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।
थाईल्यान्डले खोपसम्बन्धी आफ्नो नीतिमा परिवर्तन गरेर चीनको सिनोभ्याक र आस्ट्राजेनेका मिसाउन थालेको छ । सिनोभ्याक लगाएका कैयौँ स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि त्यसो गर्न थालिएको हो ।
इन्डोनेशियाका चिकित्सक र नर्सहरूको मुख्य संस्थाले सिनोभ्याकको पूर्ण मात्रा लगाएका कम्तीमा ३० स्वास्थ्यकर्मीको कोभिडका कारण निधन भएको बताएको छ ।
उसले पनि दोस्रो मात्रा अर्को खोप लगाउने र प्रभावकारिता बढाउने योजना बनाएको छ ।
के चिनियाँ खोपहरू असफल भएका हुन् ?
ती देशहरूमा अहिले जे भइरहेको छ त्यसमा खोप मात्र एउटा कारण होइन ।
खोपको प्रभावकारिताबाहेक नयाँ भेरिअन्टका लागि ती प्रभावकारी नदेखिएको अर्को कारण पनि हुन सक्छ ।
फाइजरले हालै ‘बूस्टर’ अर्थात् अतिरिक्त मात्राको खोपका लागि अमेरिकामा अनुमति खोजेको बताएको छ ।
इन्डोनेशियाा चिकित्सकहरूको मुख्य संस्थाका अनुसार स्वास्थ्यकर्मीको रुग्ण अवस्थाले पनि उनीहरूको ज्यान जानुमा भूमिका निर्वाह गरेको छ ।
उक्त देशमा एकदमै थोरै मात्र खोप लगाइएको छ । त्यहाँ पाँच प्रतिशत मानिसले मात्र दुवै मात्रा खोप लगाएका छन् ।
चिलेमा पहिलो मात्रा खोप लगाउनेबित्तिकै दूरी कायम गर्न छोडिएको तथा मानिसहरूले एकअर्कासँग घुलमिल गर्न थालेकाले सङ्क्रमण बढेको केही विज्ञहरूले बताएका छन् ।
हङ्कङ विश्वविद्यालयको इपिडिमियोलजी र बायोस्टटिस्टिक्स विभागका प्रमुख प्राध्यापक बेन कोलिङ “सामान्यखाले प्रभावकारिता“ हुँदाहुँदै पनि सिनोभ्याक र सिनोफार्म दुवैले उच्च तहको सुरक्षा दिने बताउँछन् ।
नयाँ भेरिअन्टको खोपमा कस्तो प्रभाव?
सिनोभ्याक र सिनोफार्म खोपबारे गरिएका अध्ययनमा सबैभन्दा पहिले चीनको वुहानमा भेटिएको भाइरसलाई आधार मानिएको छ ।
त्यसपछि विकसित भेरिअन्टमा ती खोप कति प्रभावकारी छन् भन्ने नयाँ विवरण उपलब्ध छैन ।
प्राध्यापक कोलिङ सुरुको भाइरसमा देखिएको प्रभावकारिताको तुलनामा डेल्टा भेरिअन्टका लागि ’इन्याक्टिभेटिड खोप’ २० प्रतिशत कम प्रभावकारी हुने अनुमान गर्छन् ।
हङ्कङ विश्वविद्यालयका भाइरसविद् प्राध्यापक जिन दोङ–यान डेल्टासहित नयाँ भेरिअन्टका लागि चिनियाँ खोपको प्रभावकारिता कम हुने बताउँछन् ।
तर अन्य कुनै पनि खोप नपाएका मानिसका लागि यी खोपहरू पनि उपयोगी हुने उनको धारणा छ ।
यद्यपि मानिसहरूले समाजिक दूरी कायम गर्नुपर्ने र अन्य उपायहरू अपनाउन छाड्नु नहुने उनी स्मरण गराउँछन् । (बिबिसी नेपालीबाट)