श्वेतपत्र ल्याउने सरकारको तयारी

२ साउन, काठमाडौं ।

सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेत पत्र ल्याउने जानकारी दिएका हुन् ।

हाल आफू अर्थतन्त्रको अध्ययनकै क्रममा रहेको जनाउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामी छिट्टै मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटिएको श्वेतपत्र ल्याउँछौँ ।

अर्थमन्त्री शर्माका अनुसार मन्त्रालयले हालसम्मको अर्थतन्त्रको समग्र अवस्था र आगामी कार्ययोजनासहितको भिजन समेटेर श्वेतपत्र ल्याइनेछ ।

मन्त्री शर्माले हालसम्म आर्थिक अवस्थाको सूचकांकले देखाएको स्थितिलाई श्वेतपत्रमा समेट्ने जानकारी दिए ।

मन्त्री शर्माले मन्त्रालयका सचिव र सम्बन्धित विभागका कर्मचारीलाई श्वेतपत्र जारी गर्न आग्रह गरिसकेको जानकारी गराउँदै आगामी श्वेतपत्रलाई आधार बनाएर सरकारको रणनीति तय हुने बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत १५ जेठमा ल्याएको नयाँ बजेट अध्यादेश आगामी आइतबार प्रतिनिधि सभामा पेस गरिने जानकारी दिए ।

शर्माले सो अध्यादेशबारे संसदले नै आवश्यक निर्णय गर्ने बताए ।

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभा बैठक आगामी ३ साउनमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here