लोकसेवाको कार्यालय कमलपोखरी सर्यो

१ साउन, काठमाडौं ।

लोकसेवा आयोगको केन्द्रीय कार्यालय सरेको छ । आज अनामनगरस्थित उक्त कार्यालय कमलपोखरीमा सर्ने भएको हो ।

भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण भएपछि शुक्रबारदेखि लोकसेवा आयोग कमलपोखरीमा सर्न लागेको हो ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले आंशिक रूपमा साउन १ गतेदेखि सर्ने र ३ गतेदेखि अन्तर्वार्ता पनि कमलपोखरीस्थित भवनबाटै गराइने बताए ।

आयुक्तहरु १ साउनदेखि नै सर्ने र अन्य शाखाहरु बिस्तारै सर्ने उनको भनाइ छ । आयोगको पुरानो भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले नयाँ भवन निर्माण गरेको हो ।

भवन निर्माणको लागत ७१ करोड १२ लाख २८ हजार रहेको छ । जमिनमुनि दुई र माथि छ तलाको उक्त भवनमा दुईवटा लिफ्टसमेत राखिएको छ ।

तीन वर्षको निर्माण अवधि रहेकोमा निर्धारित समयभन्दा तीन महिना थप समय लागेको थियो । भवन निर्माण २०७४ साल चैतबाट सुरु गरिएको थियो । नयाँ भवनमा केन्द्रीय कार्यालयमा रहेको सम्पूर्ण दरबन्दीअनुसारका कर्मचारी अट्ने क्षमता छ ।

एक सय ५० जनासम्म अट्ने बहुउपयोगी हल र पुस्तकालय पनि उक्त भवनमा छ । लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनालीले गत फागुन २६ गते कमलपोखरीमा निर्मित नयाँ भवनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here