१ साउन, काठमाडौं ।
यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको थियो । साथै आजै शेयर बाँडफाँटको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँट गरेको हो ।
आइपिओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारण रद्द भएको छ भने ६५ हजार १७५ जनाको बैंकिङ विवरण नमिल्दा रद्द भएको छ । यसरी कुल ६९ हजार ९७६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
२१ लाख १२ हजार ७९९ आवेदक बाँडफाँटका लागि योग्य भएकोमा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले आइपिओ पाएका छन् ।
इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
असार २४ देखि २८ गतेसम्म कम्पनीको आइपिओका लागि आवेदन खुलेको थियो ।
यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो । नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन् ।
आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ । यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन् ।
संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि भने प्रतिसेयर आम्दानी घट्नेछ । यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ ।
शुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, संदिपकुमार अग्रवाल लगायत संस्थापक छन् ।