१ साउन, बुटवल ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिएका छन् ।
यसअघि बिहिबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेश सभा बैठकबाट हिँडेका थिए ।
बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएकोले बजेट पास नहुने बताएका थिए ।
बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।
छलफलका लागि सभामुखले आधा घण्टाको समय दिए पनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन। अन्ततः सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।
एमाले सचेतक ढकालले समय घर्किसकेको र बजेट कार्यान्वयनको समय आएकोले बजेट पास हुन दिनुपर्ने बताए पनि विपक्षी सांसदहरूले भने अल्पमतमा रहेको सरकारले बजेट पास गर्न नसक्ने अडान राखिरहेका थिए ।
विपक्षी दल, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेको सरकारले सदन फेस गर्नुको सट्टा षड्यन्त्रको खेलमा लागेको बताए । यही बीचमा बिहीबार रातीदेखी प्रदेश सभा स्थगित गरिएको हो ।
हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन् ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना नै सांसद छन् ।
प्रदेश सभामा मत बराबर भए सभामुखले निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेकोले उनको मत पाउँदा विपक्षी गठबन्धनको मत ४२ पुग्छ ।