१ साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटि बैठक बोलाएका छन् । तर, बैठकमा माधव नेपालपक्षीय नेताहरु सहभागी नहुने भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी बोलाएको बैठक एकपक्षीय ढंगले बोलाइएको भन्दै माधव नेपाल पक्ष सहभागी नहुने भएको हो ।
बैठकमा आउन नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्नेछ । तर असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेरमात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन,’ एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीको भनाइ छ ।
यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो ।
कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, त्यसअनुसार बैठक नबोलाएको भन्दै नेपाल पक्ष असन्तुष्ट छ ।