एमाले सांसदको अवरोधकाबीच मार्सल लगाएर गण्डकीको बजेट पारित

३१ असार, पोखरा ।

गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट मार्सल लगाएर पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुद सदनमा विनियोजित विधेयक पेश गरेपछि एमाले सांसदहरू नाराबाजीमा उत्रिएका थिए । नाराबाजी हुँदा समेत सदनमा विनियोजन विधेयक पेश भएपछि एमाले सांसदहरू बाहिरिएका थिए ।

एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदामा वैधानिक सम्बोधन नहुँदासम्म प्रदेश सभा सञ्चालन गर्न नदिने उल्लेख छ ।

एमालेले सदन अवरोध गरेपछि विनियोजन विधेयक पेश गर्न मार्सल लगाएको थियो । एमाले सांसदहरूले टेबुल उठाएर फालेका थिए ।

यसरी प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको उपस्थितिबिना नै प्रदेशसभाले आगामी वर्षको बजेट पारित गरेको छ ।

मुख्यमन्त्री तथा अर्थमन्त्री पोखरेलले विनियोजन विधेयक सदनमा पेश गरेपछि सभामुख नेत्रनाथ अधिकारीले सत्तारूढ सांसदहरू दोबाटे विश्वकर्मा, आशा कोइराला र चन्द्रबहादुर बुढालाई विनियोजन विधेयकमाथि छलफल गर्न बोलाएका थिए ।

प्रतिपक्षीविहीन सदनमा सत्तारूढ सांसदले छलफलमा भाग लिन नचाहेपछि सभामुख अधिकारीले छलफल समाप्त भएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री तथा अर्थमन्त्री पोखरेलले असार १ गते सदनमा पेश गरेको बजेट छलफल नै नगरी यसरी पारित गरेका हुन् । बजेट पारित भएपछि सभामुख अधिकारीले सदनको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here