सर्वोच्चको फैसला गलत भन्नेहरुलाई सांसदको पदबाट राजिनामा दिन रावलको चुनौती

३१ असार, काठमाडौं ।

नेकपा एमालेका सांसद झपट रावलले सर्वोच्चको फैसला गलत भन्नेहरूलाई पुनर्स्थापित प्रतिनिधि सभा सदस्यबाट राजीनामा गर्ने आँट र हिम्मत गर्न चुनौती दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालनिकट रावलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘म चुनौती दिन चाहन्छु– सर्वोच्चको फैसला गतल हो भने पुनर्स्थापित प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर । यसै पनि तिमीहरू यो प्रतिनिधि सभामा कुन मुख लिएर आउँछौं ?’

नेपाल पक्षका २६ जनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । तीमध्ये २३ जना सर्वोच्चमै उपस्थित भएर हस्ताक्षर गरेका थिए । ती सांसदहरूविरूद्ध विभिन्न माध्यमबाट भ्रम छर्ने प्रयास भइरहेकोमा उनले खेद जनाएका छन् ।

संविधान, लोकतन्त्र र संसदीय सर्वोच्चता बचाउने आफूहरूको कदमलाई सर्वोच्चले उचित ठह¥याएको उनले बताएका छन् । ‘अदालतले हाम्रो कदमलाई उचित ठह¥यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरूको लागि सबभन्दा उत्तम गन्तब्य हो,’ उनले भनेका छन् ।

प्रतिनिधि सभालाई षड्यन्त्रपूर्वक विघटन गर्ने देखिएपछि त्यो षड्यन्त्र विफल पार्न आफूहरूले अन्य राजनीतिक दलसँग गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here