जनमोर्चाले देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने

३१ असार, काठमाडौं ।

राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

तर सरकारमा भने सहभागी नहुने निर्णय भएको पार्टीकी उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद छिन् । ५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए ।

‘सरकारलाई विश्वासको मत दिने र गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय पार्टीको बुधबार बसेको बैठकले गरेको छ,’ उनले भनिन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ । देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here