३१ असार, काठमाडौं ।
यातायात व्यवस्था विभागले तत्काल सवारी लाइसेन्सको नयाँ आवदेन नखुलाइने जनाएको छ । सिसिएमसीको आधिकारिक निर्णय र घोषणापछि मात्र आवेदन आह्वान गरिने विभागको भनाइ छ ।
विद्यालय र शैक्षिक संस्था खोल्ने अनुमतिसँगै ट्रायल सेन्टर सञ्चालनलाई पनि अनुमति दिन सक्ने सम्भावना रहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसाल बताउँछन् । योसँगै नयाँ लाइसेन्सको लागि आवदेन खुलाइनेछ ।
गत वैशाख १६ गतेदेखि अनलाइन आवदेन बन्द गरिएको थियो ।
‘अहिले अनलाइन फारम पनि बन्द छ । भौतिक रूपमा ट्रायल सेन्टरहरू सञ्चालन गर्ने अनुमतिसँगै नयाँ लाइसेन्सको लागि परीक्षा र ट्रायल लिन सुरू हुनेछ’, प्रवक्ता भुसालले भने ‘पछिल्लो लकडाउनअघि लाइसेन्सको लागि आवदेन दिएका झन्डै ६ लाखको परीक्षा र ट्रायल लिन बाकीँ नै छ ।’
त्यस्तै लाइसेन्स प्रिन्ट गर्न आवश्यक कार्डको अभावका कारण प्रिन्टिङमा पनि ढिलाइ भइरहेको छ । स्मार्ट लाइसेन्स प्रिन्ट गर्न चाहिने कार्ड फ्रान्सबाट आउनुपर्ने तर यसको लागि थप डेढ महिना लाग्न सक्ने प्रवक्ता भुसालले जानकारी दिए । झन्डै ६ लाखलाई स्मार्ट लाइसेन्स वितरण गर्न बाकीँ छ ।