बालुवाटारबाट बालकोटसम्म ओलीको यात्रा : तानाशाही तामझाम र बार्दलीबाट विषवमन

३१ असार, काठमाडौं ।

सरकारको नेतृत्व गर्दा पटक–पटक संविधानमाथि प्रहार गरेर ‘प्रतिगामी’ दर्ज भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार सरकारी निवास बालुवाटार छाडे ।

बालुवाटार छाडेर निजी निवास बालकोट फर्कंदा ओलीमा अलिकति पनि आत्मग्लानी देखिएन, बरु तानाशाही प्रवृत्तिको तामझाम र राजषी ठाँट प्रष्टै झल्किन्थ्यो ।

सरकारी सुविधाको महँगो गाडीमा लावालस्करसहित ओलीको ‘बालुवाटार टु बालकोट’ मार्चपासमा सयौं मोटरसाइकल र कार लामवद्ध थिए । जसमा सवार भएकाहरुले राजा महाराजालाई जसरी ओलीको जयजयकार मात्रै गरेनन्, सर्वोच्च अदालत, न्यायमूर्ति र विभिन्न दलका नेताहरुमाथि अपमानजनक नाराबाजी गरे ।

आफ्नै सामुन्नेमा सम्मानित सर्वोच्च अदालतको अवहेलना हुने र समकक्षी नेताहरूमाथि अपमानका गाली बर्साइरहँदा ओली भने आफूले ठुलै युद्ध जितेको मुद्रामा घरि झ्यालबाट बाहिर हेर्ने त घरि फूलमाला समाउनमै व्यस्त थिए ।

बार्दलीबाट विषवमन
बालुवाटारबाट बालकोट पुग्दा झण्डै दुई घण्टा लगाएका ओली आफ्नो निवास पुगेपछि समर्थकलाई धन्यवाद दिन घरको बार्दलीमा प्रकट भए । बालुवाटार, सिंहदरबारमा मात्रै होइन, उनले आफ्नै घरको बार्दलीबाट पनि दशकौंदेखिका सहकर्मी र सम्मानित सर्वोच्च अदालतको फैसलामाथि विषवमन गर्न पुगे ।

पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालकै कारण आफूले सत्ता छोड्नुपरेको भन्दै आक्रोशित बनेका ओलीले नेता नेपाललाई एमालेमा कुनै हालतमा इन्ट्री नदिने घोषणासमेत गर्न भ्याए । त्यहीबाट उनले नेता नेपाललाई ‘गद्दार’ घोषणा गरे ।

‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरु छन् । घुसपैठ यस्तो भयो, पार्टीका कुतत्वहरु प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीका विरुद्ध, जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए,’ ओली यतिमा मात्रै रोकिएनन् र भने, ‘माधव नेपालजस्ता लाज सरम हराएका…उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन् । पछाडि लाग्नेहरूले कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं । तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

ओलीका ३ रोडम्याप
सरकारी निवास बालुवाटार छोड्नुअघि बुधबार बिहान बालुवाटारमा भेला भएका पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई ओलीले ३ वटा रोडम्यापअनुसार अघि बढ्ने योजना सुनाएका थिए ।

‘सरकारका गलत कामविरुद्ध आन्दोलन, एमालेको व्यापक संगठन निर्माण र चुनावको तयारी अबको हाम्रो रोडम्याप हो । अब तपाईहरु यही रोडम्याप समाएर अघि बढ्नुस्’ ओलीको भनाइ थियो ।

एमाले नेता विशाल भट्टराई पनि अब आफूहरुले तीनवटा कुरामा बाहेक अन्यत्र ध्यान नदिने बताउँछन् । उनी भन्छन्, ‘हो अब हामी यी तीनवटा रोडम्यापबाहेक अरु केही सोच्दैनौं । हाम्रो सम्पूर्ण शक्ति यसैमा केन्द्रित गर्छांै ।’

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here