दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेल परेपछि भएको हिंसामा हालसम्म ७२ को मृत्यु

३० असार, काठमाडौं ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको बिबिसीले जनाएको छ ।

सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो तलामा रहेकी आमाले बच्चालाई बचाउनका लागि भवनबाट बाहिर हाम फालिन् ।

यी बच्चालाई तल सडकमा बसेकाहरुले च्याप्प समातेर उद्धार गरे । केही समयपछि आमा पनि तल ओर्लन सफल भइन् र बच्चासँग भेट भयो ।

दक्षिण अफ्रिकामा गत सातादेखि अस्थिरता सुरु भएको हो । प्रहरीले यस क्रममा १२ सय ३२ जनालाई पक्राउ गरिसकेको छ ।

हुलदंगाका क्रममा आगो लगाएर हाईवे बन्द गरिएको छ भने क्वाजुलु नाटाल र गाउटेङ प्राप्तस्थित व्यापारीकस्थल तथा गोदामहरुमा लुटपाट मच्चाइएको छ । यदी नै लुटपाट जारी रहने हो भने यी क्षेत्रमा खाद्यान्न संकट सुरु हुने सरकारले चेतावनी दिएको छ ।

जुमाका समर्थकहरुले उनको रिहाईको माग गर्दै यसरी अराजकता मच्चाएका हुन् । दक्षिण अफ्रिकामा आय दर र निकै घटेको छ भने बेरोजगारी उच्च छ, त्यहीकारण पनि हुलदंगामा ठूलो संख्यामा युवाहरु संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ ।

भ्रष्टाचार अभियोगमा अदातलमा मुद्दा चले पनि पूर्व राष्ट्रपति ज्याकुव जुमा बयान दिनका लागि उपस्थित भएका थिएनन् । जसकारण, अदालतले गत महिना उनीविरुद्ध मानहानीको अभियोगमा १५ महिना जेल सजाय सुनायो ।

सुरुमा यो सजाय अस्वीकार गरेका जुमाले गत साता आफैलाई प्रहरीसमक्ष बुझाए । त्यसयता, लगातार दक्षिण अफ्रिकामा प्रदर्शन चलिरहेको बिबिसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here