३० असार, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ । केही दिनपछि मात्रै सरकारमा सहभागी हुने जसपा नेताहरुले भनेका छन् ।
जसपा कार्यकारिणी समितिको सोमबार बसेको बैठकले केही दिनपछि मात्रै सरकारमा जाने निर्णय गरेको हो ।
आफ्नो पार्टी ४-५ दिनपछि मात्रै सरकारमा सहभागी हुने जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले सेतोपाटीलाई बताए ।
पार्टीभित्रको सबैखाले सन्तुलन मिलाएरमात्रै सरकारमा जानुपर्ने भएकाले जसपाले केही समयपछि मात्रै सरकारमा जाने निर्णय गरेको बताइएको छ ।
जसपा विवादको विषय निर्वाचन आयोगमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले आफ्नो समूहलाई आधिकारिकताको दाबी गरेका छन् ।
कार्यकारिणी समितिको स्पष्ट बहुमत यादवसँग छ भने संसदीय दलमा ठाकुरको बहुमत छ । प्रतिनिधिसभामा रहेका ३२ जना सांसदमध्ये २० जना ठाकुरसँग छन् भने यादवसँग १२ जना छन् ।