चितवनमा २४३ जनामा डेङ्गु, संक्रमण बढ्न सक्ने अनुमान

२९ असार, चितवन ।

चितवनमा चालु आर्थिक वर्षमा २ सय ४३ जनामा डेङ्गुको लक्षण देखिएको छ ।

जिल्लास्थित स्वास्थ्य कार्यालयले साउन महिना सुरु भएसँगै संक्रमण झनै बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

कार्यालयले आयोजना गरेको बैठकमा कार्यालय प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्गु परीक्षण गरिएको बताए । गत आर्थिक वर्षमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र २०७४/७५ मा एक हजार २९१ जनाको परीक्षणमा ५८ जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु पनि भएको थियो ।

डेङ्गु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । यस लामखुट्टेले खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा सयौँको संख्यामा फुल पार्दछ ।

स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्न, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उनले जानकारी दिए । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here