२९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।
आजै पदच्युत हुन लागेका प्रधानमन्त्रीले पद छाड्नु अघि देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सम्बोधन दिउँसो २ बजे हुने बताइएको छ ।
सर्वोच्च अदालतले संसद विघटन रद्द गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएपछि ओलीले आफ्नो पद गुमाएका हुन् ।
यसैबिच ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएपछि दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको एमाले स्थायी कमिटि बैठक स्थगित गरिएको छ ।
बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुने तय भएको थियो ।
सोमबार सर्वोच्च अदालतले संसद विघटन खारेज गर्दै ६ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन तथा मंगलबार बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुसार आजै राष्ट्रपतिले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम छ ।