२९ असार, काठमाडौं ।
बैंक लगायतका वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
कोषले वित्तिय संस्थाहरुलाई असार मसान्तभित्र सूचिकरण हुन निर्देशन दिएसँगै बैंक लगायतका वित्तीय संस्थाहरु संस्थाहरु आन्दोलित भएका हुन् ।
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षाको व्यवस्थाबाट वञ्चित बहुसंख्यक श्रमिक, मजदुरलाई यस व्यवस्थामा ल्याउनु साटो राम्रो सामाजिक सुरक्षा पाइरहेका बैंक, बिमा, वित्तिय संस्थाका कर्मचारीहरुलाई बलजफ्ती यस योजनामा सहभागी गर्न खोजेको उनीहरुको आरोप छ ।
आफुहरुले खाइपाइ आएको सेवा सुविधा कटौती गर्ने बदनियतले सुरुमै आफुहरुलाई सामेल गराउन खोजिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले सामाजिक सुरक्षा ऐनमा आवश्यक सुधार र संशोधन नगरिएसम्म सहभागी हुन नसकिने प्रष्ट पारेको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्पत्तिको हक सुनिश्चित गरेकोले सामाजिक सुरक्षा कोषमा सहभागी हुन बाध्य बनाउन नपाइने उनीहरुको ठम्याइ छ ।
फियनले सामाजिक सुरक्षा योजनामा असहमति जनाउँदै असार ३० गते सम्म सांकेतिक विरोध गर्ने र समस्याको समाधान नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।