२९ असार, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ ।
एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो । तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताए ।
साथै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना बढेको छ । नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए । एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो ।
एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ ।
सोमबार स्थायी कमिटी बैठक बोलाए पनि त्यसले औपचारिकता प्राप्त गर्न सकेको थिएन । अनौपचारिक रूपमा नेताहरू छलफल गरेका थिए ।