राजकुमार चेपाङलाई एक वर्ष अघि कुटपिट गरेका सैनिकलाई ९ महिना कैद

२९ असार, चितवन ।

चितवनको राप्ती–२ का राजकुमार चेपाङको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका चिरणकुमार बुढालाई दोषी ठहर गर्दै जिल्ला अदालत चितवनले नौ महिना कैद हुने फैसला सुनाएको छ ।

न्यायाधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै आरोपित बुढालाई नौ महिना कैद, ९ हजार जरिवाना र २ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

मृतक चेपाङ सहित सात जना स्थानीय निकुञ्ज क्षेत्रमा गत साउन १ गते निगुरो र घुँगी खोज्न गएको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए ।

सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँच जना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितले बताएका थिए ।

निकुञ्जको सुरक्षार्थ खटिएका बुढाको कुटपिट तथा यातनाका कारण राजकुमारको साउन ८ गते मृत्यु भएको थियो ।

हुद्दा दर्जामा कार्यरत नेपाली सेनाका कर्मचारी चिरणकुमार बुढाविरुद्ध मृतक राजकुमारका बुवा विष्णुलाल चेपाङले गत भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

साउन ८ गते पीडित परिवारले राजकुमारको मृत्यु निकुञ्ज सुरक्षाकर्मीको कुटपिट तथा यातनाबाट भएको भन्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियो । मृतक राजकुमार चेपाङको बुवाले भदौ २५ गते भने नामै किटेर उजुरी दिएपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो ।

मुद्दाका आरोपित बुढालाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको थियो ।

मृतकको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले ७ लाख, राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएका थिए ।

अति विपन्न सिमान्कृत समुदायका परिवारको लागि राप्ती नगरकै उपप्रमुख इमानसिह लामाले निजी खर्चबाट घरसमेत बनाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here