अदालतप्रति बस्नेतको आक्रोश : राजनीतिमा आउन प्रधानन्यायाधीशलाई चुनौती

२९ असार, काठमाडौं ।

सर्वोच्च अदातलले प्रतिनिधि सभा पुनस्र्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएपछि आक्रोशित बनेका नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले आइतबार साँझ माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए ।

संसदलाई ह्वीप उल्लंघनमा कारबाही गर्न पाउँदैन भन्ने आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको उनको आरोप छ । ‘सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ?’ उनले भने, ‘तपाईं एमालेको नेता बन्ने रहर छ भने एमालेमा आउनुहोस् । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् ।’

‘नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउबाजेले नसकेको कुरा तपाईंले सक्नुहुन्न,’ उनले अघि भने । जबराले अहिले देउवालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत नदिएर ढाल्ने, अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफू प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला गरेको उनको आरोप छ ।

बस्नेतले भनेका छन्, ‘हामी यो फैसला स्वीकार गर्दैनौं । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।’

‘चोलेन्द्रशमशेरजी, जहानियाँ राणा शासन सकियो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मँदै तुहिने छ ,’ उनले विरोध कार्यक्रममा भने ।

सर्वोच्चको यो फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाले गरेको उनको आरोप छ । ‘रमण श्रेष्ठ र शम्भु थापाहरुको संवैधानिक इजलासले गरेको फैसला हो, यो चोलेन्द्रशमशेरले गरेको फैसला होइन,’ उनले भने, ‘निरंकुश, लोकतन्त्र विरोधी, अधिनायकवादी शक्तिहरुले अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएका हुन् ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here