विपक्षी गठबन्धन सरकार गठनमा जुट्यो, सुरुमा सानो आकारको मन्त्रिपरिषद बनाइने

२८ असार, काठमाडौं

सर्वोच्च अदालतको परमादेशलगत्तै विपक्षी गठबन्धन सरकार गठनमा जुटेको छ ।

अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्न तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै बसेको गठबन्धनको बैठकले नयाँ सरकार बनाउन लागिपर्ने निर्णय गरेको काँग्रेस प्रमुख सचेतक बालकृण्ण खाँणले जानकारी दिए ।

सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको ठहर गर्दै गठबन्धनले भोलि नै केही मन्त्रीको टुँगो लगाउने निर्णय गरेको छ । ‘सरकार निर्माणको क्रममा प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद गठन गर्ने र दलहरुवीचमा सहमति सहकार्यलाई अगाडी बढाउदै लाने निर्णय गरेका छौं’ नेता खाँडले बैठपछि बाहिरीने क्रममा भने ।

उनका अनुसार भोली गठबन्धनमा आबद्ध दलका शिर्ष नेताहरुवीच छलफल हुनेछ ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी थिए ।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ बैठकमा सहभागी थिए ।

नेकपा एमालेबाट नेता माधव कुमार नेपाल र रघुजी पन्त तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here