कर्णालीका मुख्यमन्त्रीसहितको टोलीद्वारा चीनसँगको सीमा निरिक्षण

२७ असार, काठमाडौं ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको एक सरकारी टोलीले नेपाल र चीनबीचको सीमा क्षेत्रको अनुगमन गरेको छ ।

शुक्रबार हुम्ला पुगेको टोलीले हुम्ला र चीनको तिब्बतबीचको सीमा क्षेत्र अनगुमन गरेको हो ।

मुख्यमन्त्री शाही, कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवन शाही, पूर्वभूमि व्यवस्था तथा कृषिमन्त्री विमला केसी सहभागी टोलीले नेपाल–चीनको सीमा क्षेत्र लोलुङजोङको अनुगमन गरेको हो ।

चीनसँगको सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चा (लोलुङजोङ) क्षेत्रमा गत असोजमा चीनले केही भवन बनाएपछि सीमा मिचिएको भन्दै विवाद भएको थियो ।

स्थलगत अनुगमपछि सांसद जीवन शाहीले नेपाल र चीन दुबैको तर्फबाट सीमामा तलमाथि भएको देखिएको बताए ।

‘त्यहाँ कतै चिनियाँ भूमि हाम्रोतिर परेको देखिन्छ, कतै हाम्रो भूमि चीनतर्फ परेको देखिन्छ । त्यो गडबड भएको छ,’ उनले भने, ‘मेरो माग के हो भने प्रदेश सरकारले पनि यसको समस्या समाधानका लागि संघीय सरकारलाई सिफारिस गरोस्, संघले पनि यसमा ध्यान देओस् ।’

सांसद शाहीले यसअघि विवादित बनेको सीमा क्षेत्रबारे अध्ययन गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । सो ज्ञापन पत्रका बारेमा सरकारको ध्यानाकर्षण भएर टोली त्यहाँ पुगेको उनले बताए ।

‘मैले यो विवाद भएको समयमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थिएँ, प्रदेशभित्रको सीमाना भएकाले प्रदेश सरकारले आफ्नै आँखाले हेरेपछि केही बुझ्नुहोला भनेर हामीले ज्ञापनपत्र बुझाएका हौं,’ शाहीले भने ।

अहिले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मात्र भएकाले उनलाई सीमा क्षेत्रको बारेमा जानकारी आफूले गराएको शाहीले बताए ।

अनुगमनमा गएको प्रदेश सरकारको टोली भोलि आज सुर्खेत फर्किने तालिका छ ।

टोली सुर्खेतबाट हुम्लासम्म हेलिकप्टरमा गएको थियो । त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल–चीन सीमामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here