असार २६, काठमाडौं
अमेरिकी सरकारले कोभ्याक्समार्फत दिने कोरोना भाइरस विरुद्धको खोप आगामी सोमबार नेपाल आइपुग्ने भएको छ ।
जोनसन एण्ड जोनसनको एकमात्र लगाए हुने खोप सोमवार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार १५ लाख डोज खोप आउन लागेको हो ।
डा.भट्टराईले सामाजिक सञ्जालमार्फत अमेरिकी सरकारलाई धन्यवाद समेत दिएका छन् । थप खोप ल्याउन पहल जारी राख्ने पनि उनले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरे अनुसार यो खोप आउन लागेको हो ।
नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले समेत केही दिनमा अमेरिकाले १५ लाख नेपालीलाई पुग्नेगरी कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराउदैछ’ भनि शुक्रबार ट्वीट गरेका थिए ।
जोनसनको खोप कोभिसिल्ड र भेरासेल जस्तो दुई डोज लगाउनु पर्दैन । यो खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । नेपालमा अहिलेसम्म कोभिड बिरुद्ध भारतको सिरम इन्स्टीच्यूटको कोभिसिल्ड र चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप आएको छ ।
शुक्रबार मात्रै चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको ८ लाख डोज ल्याईएको छ । यही असार ३१ गते फेरी नेपाल वायू सेवा निगमको जहाज खोपको अर्को खेप लिन चीनको बेईजिङ जांदैछ ।