२६ असार, काठमाडौं ।
राष्ट्रपतिको हत्यापछि झनै अस्थिर बनेको हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ ।
राष्ट्रपति जोभिनल मोइसेको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो ।
अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग नगर्ने भन्दै हाइटीको आग्रह अस्विकार गरेको छ ।
हाइटीको प्रहरीले यसअघि राष्ट्रपति मोइसेको हत्यामा २८ जना विदेशी आपराधिक व्यक्तिहरुको समूह संलग्न रहेको बताएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्समा भएको भिडन्तपछि १७ जना पक्राउ परेका छन् ।
समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्तहरु रहेको हाइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हाइटी प्रवेश गरेको जनाइएको छ । प्रहरीको गोली लागेर तीन अभियुक्त मारिएका छन् । अरु ८ जना भने अझै फरार रहेका छन् ।
सैन्य सहयोग तत्काल उपलब्ध गराउने योजना नरहेको बताएको अमेरिकाले अनुसन्धानका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) तथा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु भने पठाउने उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघले कुनै पनि देशमा सैनिक सहयोग पठाउनका लागि सुरक्षा परिषदबाट पारित गराउनु पर्छ ।
राष्ट्रपतिको हत्यापछि हाइटीमा अस्थिर अवस्था सिर्जना भएको छ । अमेरिकाको गरिब देशमा पर्ने हाइटीमा अहिले आपतकालीन अवस्था लागु भएको छ ।
हाइटीका राष्ट्रपति मोइसेको जुलाई ७ मा उनकै घरमा हत्या गरिएको थियो ।