२६ असार, सप्तरी ।
विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र ‘एजेन्ट’का परिवारबीच झडप हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ छन् ।
झडप हुँदा टाउकोमा चोट लागेका उनको छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
टोलमा बिहीबार राति साढे ११ बजे दुई पक्षबीच झडप भएको थियो ।
झडप हुँदा अर्को पक्षले चिर्पट र बाँसको भाटाले मियाँको टाउकोमा प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका मियाँलाई अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो । डिएसपी काफ्लेका अनुसार मृतकको शव परिवारले बुझिसकेका छन् ।
झडपमा संलग्न अर्को पक्षका मानिस भने फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।
काफ्लेका अनुसार इरारुल मियाँ र आजिब मियाँलाई मृतकका नाति मोहम्मद तनाबुलले विदेश पठाएका थिए । आफ्नो मेनपावर कम्पनी नभएका उनले ‘एजेन्ट’को भूमिका खेलेका थिए ।
सात महिनाअघि दुबई गएका मियाँ दाजुभाइले राम्रो काम नपाएको भन्दै परिवारलाई गुनासो गरिरहेका थिए ।
‘कि राम्रो काम दिलाउनुपरो कि पैसा फिर्ता दिनुपरो भनी मियाँ दाजुभाइका आफन्त गएका थिए, यसक्रममा वादविवाद हुँदै झडप भएको थियो,’ काफ्लेले भने ।
तर, उनीहरूले के कति पैसा फिर्ता मागेको भन्ने विषय खुलिनसकेको उनले बताए । ‘मृत्यु भएको परिवार शोकमा रहेकाले के कसो हो भनेर तत्काल बुझ्न सकिएको छैन,’ काफ्लेले भने ।
घटनासम्बन्धी जाहेरी आइनसकेको र अहिले ठाडो निवेदनमात्रै आएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । जाहेरी आएपछि घटनाको अनुसन्धान थालिने काफ्लेले बताए ।