२६ असार, काठमाडौं ।
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन् । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ ।
बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए । ‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने, ‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ । अबको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि शनिबारको बैठकपछि थाहा पाउनुहुनेछ ।’
त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताए । उनले बाँकी विषयमा शनिबार छलफल गरेर सहमति जुट्ने बताए । ‘आधा दर्जन विषयमा छलफल भयो, एकाध विषयमा छलफल बाँकी रह्यो, अबको बैठकमा निष्कर्षमा पुग्छौ,’ विष्टको भनाइ छ ।